पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, एमसीसी पास भएरै छाड्छस् सञ्चारमन्त्री

 

वराटनगर, माघ १७ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताए ।

सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताए ।

उनले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको धारणा राखे ।

मन्त्री बाँस्कोटाले एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराउन लागेको जानकारी दिए ।

उनले एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउँदै अमेरिकन काँग्रेसले समेत सहमति जनाएकाले संसद्बाट पारित गराउनुको कुनै विकल्प नभएको स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र योसँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको जानकारी दिए ।

उनले कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए ।

मन्त्री बाँस्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागी हुन हिजो साँझ विराटनगर आएका हुन् । (रासस)