निवर्तमान सञ्चारमन्त्री बाँस्कोटामाथि छानबिन हुन्छ, एमसीसीको टुंगो छिट्टै लाग्छः गृहमन्त्री

 

हेटौडा, फागुन ११ ।

गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुने बताएका छन् ।

हेटौंडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिइसकेकाले यस विषयमा सरकारले आवश्यक छानबिन गर्ने बताए ।

गृहमन्त्री थापाले बाँस्कोटाविरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्ने बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बांस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए ।

गृहमन्त्री थापाले एमसीसीको बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे ।

शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी गदै गृहमन्त्री थापाले सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको जानकारी दिए ।

हिजो देखि हेटौडामा सुरु भएको बाग्मती प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाइ गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता,पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

दुई दिने गोष्ठीमा प्रदेशको १३ वटै जिल्लाका नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागितामा रहेको छ ।
(ईमेजखबरबाट साभार)