निर्मला पन्त प्रकरणका एसपीले भने–चिफ सापले भनेअनुसार काम गरेको हुँ

काठमाण्डौं, कार्तिक १० ।
कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै बिहिबार सेवाबाट बर्खास्त गरिएका एसपी दिल्लीराज विष्टले आफू प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार अघि बढेको दाबी गरेका छन् ।

उनले सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएर निर्मला पन्तको घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका हुन् ।

‘निर्मलाको शब दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो ।’