नागरिकता वितरण प्रावधान त्रुटीपूर्ण : अध्यक्ष शर्मा

काठमाडौं, पुस १३ ।
राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा नागरिकता सम्बन्धी प्रावधानहरु जस्तोसुकै भए पनि आमाको नामबाट नागरिकता लिन सक्ने अवस्था अझै पनि नरहेको बताए ।
अध्यक्ष शर्माले नागरिकता सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई स्पष्ट रुपमा सुचित गर्नु पर्ने सुझाव दिए । राज्यले नै महिला र पुरुषलाई भेदभावको दृष्टिले हेर्ने गरेको उनको टिप्पणी थियो ।
कार्यक्रममा राज्यविहिनताको विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरु नामक संगालोको नेपाली अनुवाद संग्रह विमोचन गरिएको थियो ।
संग्रहमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अनुमोदन गरिएको मानवअधिकार आयोग सम्बन्धी विश्वव्यापी घोषणा र आधारभूत अधिकारसम्बन्धी विषय समेटिएका छन् ।
(ईमेजखबरबाट साभार)