दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी, सुवास नेम्वाङले लिए नेतृत्व
काठमाण्डौं, असोज ४ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ ।
नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए । उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन् ।
यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ । उनलाई राजीनामा दिन दबाब दिइएको छ । राजीनामा दिएर स्वेच्छिक रुपमा बाहिरिए महाभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ ।
प्रधानन्यायाधीशमा संवैधानिक समितिबाट सिफारिस भएपनि संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी केही समय बिदामा बसेका थिए । तर, नयाँ प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्र आएसँगै पुनः ४१ दिनपछि सर्वोच्च फर्किएका थिए । त्यसो त गत भदौ २५ गते प्रधानन्यायाधीशका रुपमा सर्वोच्च प्रवेश गरेका मिश्रलाई जोशीले स्वागत गरेका थिए ।
जोशी सर्वोच्च फर्किएसँगै नेकपाका नेताहरु उनीसँग आक्रोशित भएका थिए । उनीहरुले राजीनामा दिई सर्वोच्चको गरिमा बचाउन आग्रह गर्दै आएका थिए । तर, जोशीले आग्रह अटेर गर्दै गएपछि नेकपा महाअभियोग लगाएरै निकास खोज्ने प्रयासमा जुटेको हो ।