दामन घटनाबारे छानबिन गर्न समिति गठन

 

काठमाडौं, माघ ८ ।

पर्यटन विभागले दामनको पानोरमा रिसोर्टमा सोमबार राती आठजना भारतीय पर्यटकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरेको छ ।

विभाग अन्तर्गतको होटल शाखाले बुधबार सूचना जारी गरी घटनाको सत्यतथ्य बुझ्न शाखाका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एकरएक प्रतिनिधि तथा पर्यटक प्रहरीका निरीक्षक सदस्य रहनेछन् ।

सदस्य सचिवमा विभागको होटल शाखाका शाखा अधिकृत रहेका छन् । भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिक पानोरमा रिसोर्टमा बसेकोमा एउटा कोठामा सुतेका आठजनाको मृत्यु भएको हो ।
(ईमेजखबरबाट साभार)