तमूहरुको इतिहास पच्यु, क्लेप्री र बोन लमसँग मात्रै छ यसको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ २९ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङहरुको अहिलेसम्म कुनै लिखित इतिहास नभएको र यो जातिको मौखिक इतिहास केवल पच्यु क्लेप्र र बोनपो लमसँग मात्रै रहेकोले यीनिहरुको संरक्षण गर्न सबै तमूहरुलाई अनुरोध गर्नुभएको छ । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले पोखरा सभागृहमा आयोजना गरेको स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

साथै मुख्यमन्त्री गुरुङले नेपालमा सुगौली सन्धि भएको समयमा गुरुङ जातिले सबै भन्दा बढी वीरता देखाएकोले त्यही बेलादेखि अङग्रेजहरुको नजरमा गुरुङहरु परेको र लहुरे हुने क्रम सुरु भएको भन्दै जुनदिनदेखि गुरुङहरु लाहुर जान थाले त्यही दिनदेखि गुरुङहरुको भाषा संस्कृति माथि अतिक्रम हुने क्रम सुरु भएको बताउनुभयो ।

साथै मुख्यमन्त्री गुरुङले आफू सुरुसुरुमा चुनाव लडदा गुरुङ गाउँहरुमा भोट माग्न जाने बेलामा नेपाली भाषा नबुझेर गुरुङ भाषामा भाषण गर्दै हिडे पनि अहिले गुरुङ गाउँहरुमा गुरुङ भाषा नबुझने भई सकेको बताउँनु भयो । तमू भाषा र संस्कृतिको संरक्षण गर्ने काममा तमू प्ये ल्हु संघ र यसको भातृ संस्था युवा समितिले गर्दै आएकोमा आफूलाई खुसी लागेको भन्दै उहाँले साँस्कृतिक कार्यक्रम मार्फत मौलिक धर्म र संस्कारको कुरालाई प्रस्तुत गरेर युवाहरुले महत्वपूर्ण कदम चालेको बताउनुभयो ।

अहिले राज्यले सबै जातिको भाषा र धर्म एउटै हो भनेर भनेता पनि व्यवहारमा भने त्यो किसिमको समानता नभएको भन्दै अझै पनि गुरुङहरु आफनो समान हक अधिकारको लागि राज्यसँग लडन जरुरी रहेको बताउनुभयो ।