ढकालको स्मृतिमा नेविसंघको छात्रबृत्ति अक्षयकोष

पोखरा, माघ २५ ।
मंगलबार साँझ नगरबसले किचेर मृत्यु भएका नेविसंघका नेता बोधराज ढकालको स्मृतिमा नेविसंघ प्रदेश ४ समितिले छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने भएको छ । १३ दिनको कर्मअघि नै ढकालको गाउँ फापरथुम स्थित भगवती माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो । हरेक बर्ष १० कक्षाको परीक्षामा उत्कृष्ट नजिता ल्याउने छात्र–छात्रालाई पुरस्कृत गर्ने गरी अक्षयकोष बनाउन लागिएको नेविसंघले जनाएको छ ।
यसका लागि नेविसंघ प्रदेश समितिका पदाधिकारीले जनही ५ हजारका दरले ६० हजार संकलन गरिसकेका छन् । बाँकी रकम स्वच्छिक रुपमा सहयोग संकलन गर्ने नेविसंघ केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ४ का संयोजक डिल्लीराम सुवेदीले जानकारी दिए । ढकालको योगदानको स्मृतिलाइ जिवन्त राख्न र परिवारजनको दुखमा साथ दिन अक्षयकोष बनाउन लागिएको उनको भनाई छ । संयोजक सुवेदी, सदस्य सचिब एवं सहमहामन्त्री हरिहर शर्मा, केन्द्रिय सदस्यहरु जानुका पन्त, पुनम भट्ट, भानु ढकाल, आर सि भट्टराई, शंकरराज घिमिरे, देबकृष्ण पराजुली लगायतका विद्यार्थी नेताहरूले जनही ५ हजार रुपैया संकलन गरि अक्षयकोष स्थापानाको सुरुवात गरेका हुन् । ’पकेट खर्च कटौती गरि सहयोद्दाको सम्मानमा योगदान गर्न लागेको कुरा केन्द्रिय सदस्यहरुले बताएका छ्न ।
नेविसंघ प्रदेश समितिले बिहिबार विज्ञप्ती जारी गरी लापरबाहीले ढकालको मृत्यु भएको भन्दै दोषीमाथी कडा कानुनी कारबाही गर्न माग गरेको छ । सार्बजनिक यातायात ब्यबस्थामा बढ्दो जथाभावीपना र कमजोर कानुनी ब्यबस्था बिरुद्ध पनि खबरदारी बढाउने विज्ञप्तीमा उल्लेख छ । कमजोर आर्थिक अबस्था रहेको परिवारमा हुर्केर बिबिएस चौथो बर्ष पढ्दै गरेका ढकालका बाबुको शारिरिक अपाङगता छ भने भाइ कक्षा १२ मा पढ्दै छन् । नेविसंघले परिवारको लागि तत्काल राहत उपलब्ध गराउने बचनबद्धता पनि जनाएको छ ।