डब्लुएचओद्वारा ’कोरोनाभाइरस’लाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

एजेन्सी, माघ १७ ।
विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
चीन बाहिर पनि यसको प्रकोप तीब्र दरमा फैलिए पछि डब्लुएचओले कोरोनाभाइरसलाई विश्वव्यापी संकटकाल घोषणा गरेको हो ।
डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस एडहानोम ग्रेब्रियसले यस घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन अन्य देशमा के भइरहेको छ भन्ने कुरा मुख्य हो भने ।
डब्लुएचओले कमजोर स्वास्थ्य प्रणालीका कारण यो विश्वव्यापी रुपमा फैलन्छ कि भनेर चिन्ता व्यक्त गरेको छ ।
अहिलेसम्म चीनमा १ सय ७० व्यक्तिको मृत्यु भइसकेको छ । डब्लुएचओले चीनबाहेक अहिलेसम्म १८ देशका ९८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।
अनलाइनबाट यो रोगको बारेमा गलत जानकारी फैलिएको पनि उसले जनाएको छ । यो रोगबाट संक्रमित हुनेमध्ये अधिकांश चीनको बुहान शहरबाट यात्रा गरेका व्यक्तिहरु रहेको पनि डब्लुएचओले जनाएको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डाक्टर टेड्रोसले भाइरसलाई अभूतपूर्व प्रकोप भन्दै यसको बारेमा अभूतपूर्व प्रतिक्रिया पाइएको उल्लेख गरे ।
उनले यसलाई फैलिनबाट रोक्न चिनियाँ अधिकारीहरुले गरेको प्रयासको पनि प्रसंसा गरे । डाक्टर टेड्रोसले यो घोषणा चीनका बारेमा अविश्वासको मत नरहेको जिकिर गरे ।
चीनको अन्तर्रा्ष्ट्रिय व्यापार वा यात्रा सीमित गर्ने कुनै कारण नभएको उनको भनाइ छ ।
भाइरस फैलिएसँगै विभिन्न देशहरुले सीमाना बन्द गर्न वा हवाई उडान रद्द गर्ने कदम चालेका छन् ।