ट्याक्सीको भाडा बढ्यो, एक किलोमिटर यात्रा गर्दा ३९ रुपैयाँ

काठमाण्डौं, असोज ९ ।
सरकारले असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ । शनिबार यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो ।

विभागले हालको भाडामा १० प्रतिशत बढाएर भाडादर सार्वजनिक गरेको छ । विभागका अनुसार हाल प्रतिकिलोमिटर यात्रामा लाग्ने ३५ रुपैयाँ भाडालाई बढाएर ३९ रुपैयाँ र्पुयाएको छ । भाडा वृद्धि भएसँगै ट्याक्सी चढ्ने यात्रुले अब एक किलोमिटर यात्रामा ५३ रुपैयाँ तिनुपर्ने भएको छ ।

ट्याक्सी चढ्दा मिटरमा सुरुमै १४ रुपैयाँ देखाएको हुन्छ । यसलाई ‘फ्ल्याक डाउन’ रकम भनिन्छ । यही रकममा प्रति २ सय मिटर ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्छ । यसअघि प्रति २ सय मिटर ७ रुपैयाँ मात्रै थियो ।

यसैगरी राति ट्याक्सी चढ्दा भने प्रतिकिलोमिटर ५८ रुपैयाँ ५० पैसा लाग्ने भएको छ । यसअघि ५२ रुपैयाँ ५० पैसा मात्रै थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा ५ किलोमिटरसम्म साविकको ४ सय ८१ रुपैयाँबाट बढाएर ५ सय २९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । ५ किलोमिटरपछि प्रति किलोमिटर माथिका रुटहरुमा ६८ रुपैयाँका दरले लिन पाउनेमा १० प्रतिशतले बढाई ७४ रुपैयाँ ८० पैसा बनाएको छ ।

अधिकतम दुरीमा साविकको १ हजार ५२ रुपैयाँमा १० प्रतिशत बढाई १ हजार १ सय ५७ रुपैयाँ २० पैसा कायम गरिएको विभागले स्पष्ट पारेको छ ।