छिमेकी नै पापी भएपछि…

काठमाण्डौं, असोज ९ ।
चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् ।

भदौ २६ गते राति । दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले कु्ररता देखाए । खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए । गम्भीर घाइते सम्झनाको आइतबार राति निधन भयो ।

‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन। छिमेकी पापी भएपछि कसको के लाग्छ र?’ जादोलाल गरिब परिवारका हुन् । उनको एकधुर पनि जमिन छैन। २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो । त्यसपछि विवाह भयो । धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो ।

तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो। धनमाया रोजगारीका लागि साउदी अरब गइन् । सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन्। सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन् । आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए । लालनपालन जादोलालले नै गर्थे। धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्म्शिलासित मागी विवाह गरे ।

घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे। नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन् । ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो ।’ उनी घरमा एक्लै टोलाइरहेका थिए । छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए । घटनापछि दुवैको उपचारमा समस्या भएको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो । उपचारका लागि स्थानीयले चन्दा उठाए । स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो। सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो । उनको २ पटक शल्यक्रिया गरिएको थियो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

भद्र स्वभावकी सम्झना

जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना। उनी निकै भद्र थिइन् । अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन् । सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए । दुवै साथी जस्तै व्यवहार गर्थे । कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे । आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन् । उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो । उनी अहिले विदेश छन् ।