चीनलाई उपहार दिने गैँडा आजदेखि नियन्त्रणमा लिइने

काठमाडौं, वैशाख १४ ।

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन दुई जोडी गैँडा शनिबारदेखि नियन्त्रणमा लिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मोहनबाट एक जोडी गैँडा नियन्त्रण लिन लागिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्ने तयारी भइरहेको छ । गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उहाँले बताउनुभयो । ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ ।

गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जीपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ । वैशाख ७ गतेदेखि यो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका ६ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ । सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार गैँडा वा अर्काे सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताउनुभयो ।