‘गोकुल बाँस्कोटालाई ‘बलिको बोका’ बनाइयो’

 

काठमाडौं, फागुन १५ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको नेपथ्यमा शक्तिशाली व्यक्तिहरुसमेत रहेको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले निर्वतमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ‘बलिको बोका’मात्र बनाइएको र प्रधानमन्त्री तथा उनीजत्तिकै शक्तिशाली व्यक्ति पनि संलग्न रहेको भन्दै छानबिन गर्न माग गरे ।

उनले ७० करोडकान्ड लुकाउन प्रधानमन्त्रीको जन्मदिनको केककान्ड र संविधान संशोधनकान्ड ल्याइएको भन्दै यी घटनाले सरकार र सत्तामा बस्ने मानिसको शक्ति उन्माद प्रष्ट भएको टिप्पणी गरे ।

नेताहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप

सत्तारुढ दल नेकपाका सांसदहरुले भने आफ्नो दलका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाएका छन् ।

बिहीबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारले राजनीतिक स्थायित्वमाथि नै प्रश्न जन्मने अवस्था आएको टिप्पणी गरे ।

समाजवादी पार्टीका सांसद रामप्रित पासवानले प्रधानमन्त्री ओलीको ब्राह्मण अवतार नै देखिएको भन्दै उत्पीडित र सीमान्तकृतलाई अधिकार सम्पन्न बनाउने सोच सपनामै सीमित भएको टिप्पणी गरे ।

बिहीबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन–२०७६ पेस भएको छ ।

यस्तै, गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक–२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
(ईमेजखबरबाट साभार)