गरिबीका कारण महिला हिंसा हुन्छ : मन्त्री गुरुङ

 

काठमाडौं, माघ २२ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाविरुद्वका सबैखाले हिंसाको कारण गरिबी भएको बताएका छन् ।

महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले गरिबीको अन्त्यसंगै सबै खाले विभेदको अन्त्य हुने बताए ।

राजनीतिज्ञ, प्रशासक, अधिकारकर्मी, नागरिक समाज, कानूनविद् सबैका कमी–कमजोरी रहेको भन्दै सच्याएर अघि बढेमात्र परिर्वतन सम्भव हुने मन्त्री गुरुङको भनाइ छ ।

महिलाविरुद्धको हिंसा अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री गुरुङले केही महिलाहरु पदमा पुग्दैमा मात्र मात्र परिवर्तन हुने नभई ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पनि परिवर्तनको खाँचो रहेको औंल्याए ।

महिला अधिकारकर्मी बन्दना राणाले महिलाविरुद्धको हिंसा र वेइजिङ घोषणापत्र तथा कार्यान्वयनका सम्बन्धमा सबैको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइन् ।

महिला हिंसाका घटना बढ्दै जानु चुनौतीको रुपमा रहेको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले आर्थिक स्रोत साधानमा महिलाहरुको पहुँच सुनिश्चित नगरेसम्म उनीहरुको विकासमा मद्यत नपुग्ने धारणा राखेका थिए ।
(ईमेजखबरबाट साभार)