केन्द्रीय कार्यालय नसार्न माग

 

विराटनगर, चैत २ ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ ।

नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए ।

काँग्रेस प्रदेश नं १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग गरे ।

प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश सरकार विराटनगरको इतिहास मेटाउने काममा उद्यत भएको आरोप लगाउँदै यहाँको राजनीतिक, सामाजिक र ऐतिहासिक उपलब्धिलाई यथावत राख्नुपर्छ भने ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यहाँको गौरव मास्न खोज्ने विषय विराटनगरवासीलाई मान्य नहुने बताए ।

काँग्रेस विराटनगर महानगरपालिका समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले विश्वविद्यालयको विधानमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख रहेको हुँदा संशोधन गरी गोठगाउँमा लैजान नहुनेमा जोड दिए ।

समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका कार्यवाहक अध्यक्ष मो नसरुलले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट अन्यत्र सार्न नहुने बताए ।
(रासस)