कास्कीमा लागुऔषध नियन्त्रण सचेतना र्याली

पोखरा, माघ १३ ।
कास्की प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रणको महाअभियान अन्तर्गत पोखरामा बृहत सचेतना र्याली निकालिएको छ । वडा प्रहरी कार्यालय रामबजार र सामुदायिक सेवा केन्द्र माटेपानीको संयुक्त आयोजनामा र्याली निकालिएको हो । र्यालीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लागू औषध नियन्त्रणका लागि कास्की प्रहरीको अभियान सह्रानीय भएको भन्दै निरन्तरताको आग्रह गरे । उनले धेरै बालबालिकाहरु लागू औषधको शिकार भएकोमा चिन्ता ब्यक्त गर्दै त्यसबाट जोगाउन परिवार र समाज पनि सचेत हुनुपर्ने धारणा राखे ।
अमरसिंह चौरबाट सुरु भएको र्याली प्रदर्शनी केन्द्रमा पुगेर कोणसभा गरिएको थियो । र्यालीमा पोखराका २ सय ७० भन्दा बढी संघ संस्थाका प्रतिनिधीहरु सहभागी भएका प्रहरीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पोखराका सबै वडामा लागू औषध नियन्त्रण विशेष समिति गठन गरेको जानकारी दिए । उनले सरोकारवालासँग अन्तरक्रिया र विद्यालयमा प्रशिक्षण समेत निरन्तर भैरहेको बताए । ‘प्रहरीको तर्फबाट हामी निरन्तर लागिरहेका छौं । अव समाज पनि सामेल हुनुपर्ने बेला आएको छ, उनी भन्छन्–समुदायले अपनत्व नलिएसम्म कार्यक्रम सफल हुँदैन । सबैको साथले कास्कीबाट लागू औषध निर्मूल पार्ने अभियानमा हामी जुटेका छौं ।’ एसपी सिंह आएकै भोलिपल्ट आफ्नो कार्ययोजना तयार गर्दाताका उनले लागूऔषध नियन्त्रण मुख्य प्राथमिकतामा राखेका थिए । सोही अनुसार जिल्लामा विभिन्न कार्यक्रम पनि भैरहेका छन् ।