औसतभन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन

काठमाडौं, असोज २६ ।
औसतभन्दा १९ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । जुन २० मा नेपाल भित्रिएको मनसुन शनिबार बाहिरिएको हो ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर, यस वर्ष नेपालमा औसतभन्दा १० दिन ढिलो गरी अर्थात् जुन २० मा मनसुन सुरु भएको थियो । यस वर्ष नेपालमा ११५ दिनसम्म मनसुन रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार नेपालमा सन् १९७९ मा मनसुनको अवधि सबैभन्दा छोटो थियो । सन् २००८ मा भने सबैभन्दा लामो समयसम्म मनसुन नेपालमा रहेको थियो । सन् १९७९ मा ७३ दिन र सन् २००८ मा १३० दिन मनसुन कायम रहेको रेकर्ड विभागसँग रहेको मौसमविदहरुले बताएका छन् ।
मनसुन आगमन भने सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबैभन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मकै सबैभन्दा ढिला भएको छ । यसैगरी सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ मा र सबैभन्दा ढिला सन् २०१३ को अक्टुबर १९ मा मनसुन बाहिरिएको विभागको तथ्यांक छ ।
पछिल्ला वर्षहरुमा मनसुन लम्बिने गरेको पाइएको छ । गत वर्ष अक्टोबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।
मौसमविदहरुले ग्लोबल वार्मिङका कारण मनसुन लम्बिएको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि मनसुन लम्बिनुको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जरुरी रहेको मौसमविदहरुको भनाई छ ।
(अनलाइनखबरबाट साभार)