एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित

 

बैतडी, चैत ४ ।

बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् ।

पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन् ।

यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा पाँच हजार ६९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

उनका अनुसार नियमिततर्फ दुई हजार ५ सय ५३ छात्र र दुई हजार ६ सय ४५ छात्रा गरी पाँच हजार १ सय ९८ परीक्षार्थी रहेका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ १ सय ७५ छात्र र ३ सय २१ छात्रा गरी जम्मा ४ सय ९६ परीक्षार्थी रहेका छन् ।

यस्तै प्राविधिक धारतर्फ नियमित र ग्रेड वृद्धि गरी जम्मा १ सय २४ जना परीक्षार्थी रहेका छन् । यसमा ९१ छात्र र ३३ छात्रा रहेका सूचना अधिकारी शर्माको भनाइ छ ।

चैत ६ गतेबाट सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेड वृद्धि गर्ने र प्राविधिक धारका विद्यार्थीको परीक्षा भने वीरेन्द्र मावि शाहीलेकमा हुने शर्माले बताए ।

जिल्लाभित्र रहेका १ सय १९ सामुदायिक विद्यालय चारवटा संस्थागत र एक खुल्ला गरी कूल १ सय २४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएका छन् । (रासस)