उपसभामुखले राजिनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ

 

म्याग्दी, माघ ४ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने बताएका छन् । नेपाल प्रेस संठन म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य पदका उम्मेद्धार समेत रहेका प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उपसभामुखले राजिनामा दिने र माघ ६ गते बस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाई थियो । नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुँने विश्वास व्यक्त गरे ।

‘संविधानको मर्म र प्रावधान अनुसार हाम्रो पार्टीले उम्मेद्धारी दिन र सभामुख बनाउनका निम्ति उपसभामुख नहुने स्थिती हुने भएकाले उपसभामुखले राजिनामा दिनुहुन्छ । उपसभामुखको राजिनामासंगै ६ गते बस्ने संघिय संसदको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अगाडी बढ्छ,’ नेता श्रेष्ठले भने ।

सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाई थियो । आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताए ।

आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटिको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले जानकारी दिए । नेता श्रेष्ठका साथमा राष्ट्रियसभा उम्मेदावर भगवती न्यौपाने पनि बेनी पुगेकी थिइन् ।