उपनिर्वाचन प्रभावकारी रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर

 

काठमाडौं, पुस ११ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले हालै सम्पन्न उप–निर्वाचन स्वतन्त्रता, दक्षता, विज्ञता एवं व्यावसायिकतासहित प्रभावकारी रुपमा भएको निश्कर्ष निकालेको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले आज काठमाडौमा पर्यवेक्षण प्रतिवेदनको समीक्षा गर्दे निर्वाचन धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न भएको निश्कर्ष निकालेको हो ।

पर्यपेक्षण समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले पर्यवेक्षण वैज्ञानिक विधि र मापदण्ड प्रयोग गरी सुक्ष्म ढंगबाट गरीएको बताए ।

उनले ५२ वटै स्थानको मतदान प्रकृया तथा मतगणना सामान्यतया विना अवरोध प्रभावकारी रुपमा सम्पन्न भएको बताए ।

उनले पर्यवेक्षणको क्रममा स्थायी, दिर्घकालीन, घुम्ति, विशिष्ट र राष्ट्रिय तहका गरी ३ सय ३८ पर्यवेक्षक परिचालन गरीएको बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन सहज रुपमा गरीएको र आगामी दिनमा अझै निर्वाचन आयोगलाई वैज्ञानिक र आधुनिकीकरण गर्दे लागिने बताए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए ।

प्रतिवेदनमा निर्वाचनमा देखिएका सवल पक्ष, मतदानका समयमा भएका घटना, निर्वाचन व्यवस्थापन, मतदानस्थलको छनौट, आचारसंहिता पालनालगायतका विषयमा सुझाव दिइएको छ ।
(ईमेजखबरबाट साभार)