आन्दोलनको मोर्चामा उभिनुस्–आङदाम्वे

पोखरा, असोज २६ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आदिवासी जानजातीका नेता भिष्मराज आङ्दाम्वेले सरकारका विरुद्ध आन्दोलनमा उभिन आह्वान गरेका छन् । नेपाल आदिवासी जनजाती संघ कास्कीको शुभकामना आदानप्रदान तथा सांगठनिक गतिविधि जानकारी दिने सभामा बोल्दै नेता आङ्दाम्वेले २ तिहाईको दम्भमा कम्युनिस्ट सरकारले जनतालाई पीडा दिएको भन्दै देशमा बढेको भ्रष्टाचार, अनियमितता, महंगी, जनजातीको अधिकार, संस्थागत अपराधको विरुद्धमा सशक्त आन्दोलनको विकल्प नभएको बताए ।

संघका जिल्ला अध्यक्ष आशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रखर वक्ता आङ्दाम्वे (लिम्बु) ले धर्म र सस्कृति कांग्रेसले वाहेक अन्यले बचाउन नसक्ने ठोकुवा गर्दै एकतामा बाधिएको मनलाई भ्रम फैलाएर मानवबीचको विश्वास टुटाउन केपी ओलीको सरकार लागिपरेको उल्लेख गरे । जनतालाई पेल्ने नीति विरुद्ध पटकपटक नेतृत्व कांग्रेसले गरेको अनुभव हामीसँग भएको भन्दै उनले सामाजिक सद्भाव खल्वल्याउने अधिकार कसैसँग नभएको बताए ।

मुख्यमन्त्रीलाई मत्ता हात्तीको संज्ञा दिँदै नकारात्मक प्रतिस्पर्धालाई बढवा दिएको उनको आरोप छ । उनले गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङलाई लक्षित गर्दै थाहै नभएको रेडलाइट एरिया बनाउनुपर्छ भन्ने अभिव्यक्ति एकता र अनेकताको सद्भाव बिथोल्न आएको धारणा राखे । सरकारी गतिविधिकै कारण बलात्कार, हत्या, हिंसा र अपराध बढेको गुनासो गरे । उनले गुट उपगुट र नाताबाद कृपावादको चपेटामा पार्टी फसेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष आशबहादुर गुरुङले स्वागत गर्दै जनजातीको अधिकार खोस्नेलाई नछोड्ने बताए । उनले हुँदै नभएको र गर्नै नमिल्ने पेन्सनवालाको भत्ता कटौती, ज्यान जोखिममा पारेर गरेको दुख र पेन्सनवाला भन्दै सरकारले हेपेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा कांग्रस नेता शुक्रराज शर्मा, शोभियतबाहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङ, पूर्व सांसद कृष्णकुमारी परियार, महासमिति सदस्य ऋषि काफ्ले, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, कांग्रेस नेतृ सरस्वती गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, जनजाती संघका जिल्ला सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ, ज्येष्ठ महिला नेतृ सकुन्तला गुरुङ, माछापुच्छे« गाउँपालिकाका इकाइ सभापति चन्द्रप्रकाश थापा लगायतले सरकारकै कारण आपराधिक गतिविधि बढेको भन्दै सरकार विरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिए ।