आज र भोलि देशभर बदली हुने र पानी पर्ने

 

काठमाडौं, फागुन ३० ।

काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा फेरि बदली भएको छ । आज र भोलि देशभर बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको असरले शुक्रबार देशैभरको मौसम प्रभावित भएको हो । बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले पश्चिम नेपालमा वर्षा गराएको छ भने काठमाडौं उपत्यकासहित देशभर बदली हुनुका साथै फाट्टफुट्ट पानी परेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दुई दिन हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । काठमाडौंसहित मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् मञ्जु वासीले जानकारी दिइन् ।

पश्चिमी वायु र प्रि–मनसुनी गतिविधि समेत शुरुभएकाले पश्चिमी भागमा हावाहुरीसँगै वर्षा भइरहेको उनको भनाइ छ । काठमाडौं उपत्यकामा भोलि शनिबार पनि मौमस बदली भई पानी पर्नेछ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिको मौसम यस प्रकार रहने जनाएको छ ।

फागुन ३० गते (शुक्रबार) आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०१ गते (शनिबार) दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राती देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०२ गते (आइतबार) दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

रातीः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
(ईमेजखबरबाट साभार)