अमेरिकामा बढ्दै गएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ को अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आलोचना
एजेन्सी, साउन २१ ।
पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको भनिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात गोरा जातिको वर्चस्वको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् ।
टेक्सास र ओहायोमा भएका २ वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा गरेका छन् ।
दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ ।
उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । त्यसको तीव्र आलोचना हुँदै आएको छ ।
राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताएका छन् ।
सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्ड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले बन्दुकसम्बन्धी कानुन परिमार्जनका लागि एक हुन सबैलाई आह्वानसमेत गरेका छन् ।
अमेरिकामा सार्वजनिक स्थानमा हुने गोलीकाण्ड बढ्दै गएका बेला बन्दुकसम्बन्धी कानुन अति कडा बनाउनुपर्ने र बन्दुकको अनुमतिको प्रक्रियामा कडाइ गर्ने खालको कानुन बनाउनुपर्ने माग हुँदै आएको छ ।
डेमोक्रेटिक पार्टीका नेताले त्यसको वकालतमा साथ दिएका छन् । तर राष्ट्रपति ट्रम्प भने बन्दुकसम्बन्धी कानुन धेरै कडा बनाउने पक्षमा देखिएका छैैनन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मानसिक बिरामी र घृणाले आमहत्याका लागि उक्साउने गरेको बताए ।
उनले कंग्रेसमा पेश भएको बन्दूक नियन्त्रणसम्बन्धी प्रस्तावको समर्थन भने गरेका छैनन् ।