वाम उम्मेदवार भन्छन्–जलाधार क्षेत्रको विकास गर्छौं

पोखरा, कार्तिक २८ ।
वाम गठबन्धनबाट कास्की क्षेत्र नं ३ का उम्मेदवारहरुले महानगर वडा २३ मा घरदैलो गरेका छन् । उनीहरुसँग स्थानीयले फेवाताल जलाधार क्षेत्रलाई जनताको समृद्धिसँग जोड्न माग गरे । गठबन्धनका चुनाव प्रचारप्रचार समिति वडा नं २३ संयोजक सूर्य भण्डारीले वाम गठबन्धनका प्रत्यक्ष र समानुपातिका उम्मेदवारले जनताको यो चाहना पूरा गर्न आफूहरु लाग्ने प्रतिवद्धता जनाएको बताए ।
समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले चुनाव प्रचारप्रसार कमिटी वडा नं. २३ को कार्यालय उद्घाटन गरेका छन् । उनले लामो र अथक प्रयासपछि वाम गठबनधन भएर नेपालमा रहेका कम्युनिस्ट एक भएर ऐतिहासिक कालखण्ड आएको बताए । उनले एकजुट भएर गठबन्धनलाई जिताउन अपिल समेत गरे ।
कास्की क्षेत्र नं. ३ का उम्मेदवार जगत विक जनताको प्रतिनिधि हुनका लागि आफूले उम्मेदवारी दिएर मत माग्न आएको बताए । उनले यस क्षेत्रका विकासका काम इमान्दारीका साथ पूरा गर्ने प्रतिवद्धता गरे ।
प्रदेश खका उम्मेदवार राजीव पहारीले युवा जोश र जाँगरका साथ जनताको बीचमा सेवकका बन्नका लागि आफ्नो उम्मेदवारी भएको बताए । समानुपातिक उम्मेदवार सीता गिरी ओलीले जनताले दिएको संविधान बनाउने जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयन गर्न र समृद्धिका लागि वामहरु एक भएको बताइन् ।
कार्यक्रममा एमाले कास्की सचिव दामोदर वैरागी, माओवादी केन्द्रका भूमी पराजुली, केन्द्रीय सदस्य गोमा ढकाल, हरि भण्डारी, लेखनाथ पराजुली लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन माओवादी जिल्ला सचिवालय सदस्य प्रेम भण्डारीले गरेका थिए ।