लमजुङको चिनियाँ कम्पनीमा उच्च सतर्कता : बाहिर हिँडडुल गर्न र भित्र आउन कडाई

 

लमजुङ, फागुन २२ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिन थालेपछि लमजुङस्थित चिनियाँ कम्पनीमा उच्च सतर्कता अपनाइएको छ ।

मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको चिनियाँ कम्पनी सिनो सगरमाथा हाइड्रोपावरमा उच्च सतर्कता अपनाइएको हो ।

कम्पनीमा हाल ३९ चिनियाँ र एकसय बढी नेपाली कामदार कार्यरत छन् । चीनमा कोरोना देखापर्नुअघि डिसेम्बर अन्तिममा बिदा मनाउन घर गएका ११ चिनियाँ अझै नेपाल फर्कन पाएका छैनन् ।

विश्वभर चिनियाँ मुलकका नागरिकहरुमा नै कोरोनाको संक्रमण देखिएकाले चिनियाँ दुतावासले यहाँ कार्यरत आफ्ना नागरिकहरुमा कडा निगरानी गरिरहेको छ ।

कम्पनीले आवासगृह र आयोजनामा उच्च सतर्कता अपनाउँदै कर्मचारीलाई बाहिर हिँडडुल गर्न र बाह्य व्यक्तिलाई भित्र आउन कडाई गरेको छ ।

कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले जानकारी दिए ।

जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार स्वास्थ्य सुरक्षामा निकै सावधानी र सतर्कता अपनाइएको छ । कम्पनीले जलविद्युत आयोजना घुम्न आउने पर्यटकहरुलाई रोक लगाएको छ ।

आफ्नो कम्पनीमा कार्यरत कसैमा पनि कोरोना संक्रमण नरहेकाले स्थानीयस्तरमा कुनै भ्रम र त्रास नफैलाउन सिनो हाइड्रोले आग्रह गरेको छ ।
(ईमेजखबरबाट साभार)