राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, फागुन २० मा पदावधि सकिने

 

काठमाडौं, पुस १३ ।

निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीको काम तीव्ररुपमा अघि बढिरहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरण समेत प्रदान गरिसकेको छ ।

यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । उक्त निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम हुने छ ।

उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्न समेत प्रदान गरिसकेको छ । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ । आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ ।

एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका पाँप सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छ ।
(ईमेजखबरबाट साभार)