देशभर चिसो बढ्यो : हिमपात र वर्षाको संभावना
काठमाडौँ, मंसिर २५ ।
आज(बुधबार) साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आइ देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुनेसमेत जनाएको छ ।
हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको जनाउँदै पूर्वानुमान महाशाखाले आज साँझसम्ममा नेपाल प्रवेश गर्ने जनाएको छ ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । आजबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ ।
उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
(ईमेजखबरबाट साभार)