तीजको अवसरमा जेष्ठ आमाहरु सम्मानीत

 

पोखरा, भदौ ९ ।

पोखराको सामाजिक क्षेत्रमा विशेष गरी सफाइ अभियानमा निकै सक्रिय रहेको खहरे आमा समुहले जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा ७० वर्ष माथिका ७ जना जेष्ठ आमाहरुलाई सम्मान गरेर समुहले तीज मनाएको हो ।

सम्मानित हुनेहरुमा रमा थापा, मंगली जलारी, चन्द्रकला पहारी, मैया थापा, शोभाकला पहारी र लक्ष्मी पोख्रेल, नानीमाया सिग्देल रहेका छन् । उनीहरुलाई समुहका अध्यक्ष मैया थापाले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

“तीज मान्ने र मनाउने सोच र प्रवृत्तीमा निकै फरक आएको छ । पर्वलाई सामाजिक क्षेत्रसँग जोडेर मनाउन सक्नर्पछ” समुहका अध्यक्ष मैया थापाले भनिन् । जेष्ठ आमाहरुका मौलिक तीजे गीत र उनीहरुका अनुभवबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्ने उनको भनाइ थियो ।

सम्मानित आमा मंगल जलारी तडक भडक विना साधारण तरीकाले तीज मनाएर सम्मान गरेकोमा आफ्नो आयु झनै बढेको महसुस भएको बताइन् । उनले अहिले समय धेरै बदलिएको र अहिलेका छोरी बुहारी भाग्यमानी भएको धारणा राखिन् । “आफ्नो पालामा दुख गरेर पनि पेट भरी खान पाइदैनथ्यो, कोहि कसैसँग बोल्न पनि आँट नआउने त्यो जमाना अहिले निकै फेरिएको छ, उनले भनिन् ।” सबैले सुख शान्तिले बाँच्न पाउनु पर्छ भन्ने आफ्नो चाहाना रहेको जलारीले बताइन् ।

कार्यक्रम खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारी, उपाध्यक्ष गणेश पहारी, कानुनी सल्लाहकार सूर्य प्रसाद तिमिल्सिना, राधादेवी पहारी, मनु अधिकारी, समुहका उपाध्यक्ष सावित्री तिमिल्सिना र सचिव पम्फा थापाले पर्वको महत्व र महिमाको बारेमा प्रकाश पार्दै पर्वलाई रचनात्मक र सकारात्मक उन्मुख बनाएर एक अर्काप्रतिको आत्मियतालाई बढाएर जानु पर्ने बताएका थिए ।