चर्चित सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आउने
काठमाडौं, मंसिर २१ ।
आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् ।
ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनीआगामी पुस ५ गते नेपाल आउन लागेका हुन ।
नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्ने ओशोधारा सङ्घ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए ।
आगामी पुस ७ देखि १२ गतेसम्म बुटवलको मङ्गलापुरमा रहेको ‘ओशो भिलेज’मा बृहत् ‘अजपा तथा चैतन्य समाधी’ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो सङ्ख्यामा भारतीय साधकसाधिकाको पनि सहभागिता हुने बताइएको छ ।
ओशो सिद्धार्थ औलियालगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको सङ्घले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्रा्ष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच, बुद्धपुरुष ओशोको जन्मजयन्तीको अवसर पारेर ओशोधारा सङ्घ नेपालले सप्ताहव्यापी ध्यान तथा अन्तरक्र्रिया गरिरहेको छ ।
साप्ताहिक रुपमा राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीलगायतसँग ध्यान, प्रेम र उत्सवका बारेमा अन्तरक्र्रिया गरिने सङ्घका संयोजक आचार्यश्री ओशो महेन्द्रले बताए ।
यही मङ्सिर २५ गते ओशोको जन्मोत्सव विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । ओशो जन्मोत्सव पारेर सो दिन नेपालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।
घर, परिवार, समाज त्यागेर मात्रै आध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, समाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पार्नुभएको थियो ।
मानव जीवन समस्याबाट गुज्रिरहेको र ध्यानले मात्र ती समस्या समाधान गर्छ भन्ने ओशोको मुलमन्त्रलाई उहाँका अनुयायीले विश्वभर अनुसरण गर्दै आएका छन् । (रासस)