कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर नभए तरुणहरुले हस्तक्षेप गर्ने

 

काठमाडौं, फागुन २२ ।

नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी नगरेको भन्दै उनले भाइरस नेपाल प्रवेश गर्नै नदिन र यस विरुद्ध लड्न आवश्यक पूर्वाधार तयारी गर्न सरकारसँग माग गरेका छन् ।

‘यही विषम परिस्थितिलाई लिएर कालो बजारी मौलाउने, अनियन्त्रीत मूल्य बृद्धि हुने भएकाले सरकारले बेलैमा सोचोस नत्र तरुणहरुले हस्तक्षेप गर्नेछन्,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न र मूल्यबृद्धि रोक्न सरकार असफल भएकाले तरुणहरु सडकमै जाने अवस्था आइसकेको छ ।’

त्यस्तै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरस रोकथाम गर्न वा नेपालमा प्रवेश नै हुन नदिन सरकारले जन चेतना फैलाउनुपर्ने बताए । उनले भने,‘यही मौकाको फाइदा उठाउँदै कालोबजारी बढ्ने र खाद्यन्न संकट हुने भएकाले सरकार बेलैमा सचेत हुनु जरुरी छ ।’

तरुण विभागले एक अपिल नै सार्वजनिक गर्दै नेपाललाई आवश्यक पर्ने औषधी तथा स्वास्थ्य उपकरण, खाद्यान्न, इन्धन लगायत नेपाली बजारमा अभाव हुनसक्ने अत्यावश्यक सामाग्रीहरुको आपूर्तिका लागि पूर्व सजकता अपनाउन आग्रह गरेको छ ।

अपिलमा भनिएको छ– प्रत्येक जिल्ला र घना बसोबास भएका शहरहरुमा कोरोना सम्बन्धी सूचना केन्द्र, उपचारका लागि अलग्गै हस्पिटल वा सुविधा सम्पन्न आइसोलेसन यूनिटको प्रवन्ध मिलाउन सरकारको ध्यान जाओस ।
(ईमेजखबरबाट साभार)