होलबडी सिटी स्क्यान गर्न सक्ने मेसिन अब जिएमसीमा, जटिल प्रकृतिका बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य

पोखरा, भदौ १५
गण्डकी मेडिकल कलेज पोखराले एक कार्यक्रमका बीच अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा कलेजले एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने गरि सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालले नागरिकको उपचारका लागि आवश्यक सबै अत्याधुनिक उपकरणहरु सञ्चालनमा ल्याएको कलेजका अध्यक्ष खुमा अर्यालले जानकारी दिए । सिटी स्क्यान मेसिन नहुँदा जटिल प्रकृतिका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यता अन्त्य भएको अर्यालले बताए । यसका साथै मुटुसम्बन्धी उपचारमा प्रयोग हुने उपकरण क्याथलाइज प्रविधि पनि मुटुसम्बन्धी उपचारमा प्रयोग हुने उपकरण ३ महिना भित्रमै सञ्चालन ल्याइसक्ने तयारी थालेको उनले जानकारी दिए । अब कलेजका पाठ्यक्रमहरु पनि थप गर्दै लैजाने र उपचार सेवा पनि थप हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले सेवा शुभारम्भ गर्दै नागरिकहरुले पाउनुपर्ने स्वास्थ्य सुविधा घरआँगनमै उपलब्ध हुनु सुखद् रहेको बताइन् ।
कलेजले एमबिबिएस, एमडीका विभिन्न विधामा चिकित्सा अध्यापन गराउँदै आइरहेको छ ।
सञ्चालनमा ल्याइएको मेसिनबाट शरीरको नङदेखि मष्तिस्कसम्म सिटी स्क्यान गर्ने कम्पनीले जनाएको छ । मष्तिस्कको ‘न्यूरो डिजिटल सफ्टेक्सन इन्जोग्राम’ उक्त मेसिनबाट गर्न सकिने नेपालका लागि कम्पनीका डाइरेक्टर धिरज थपलियाले बताए ।
अस्पतालमा पहिले भइरहेको मेसिन विस्थापन गरी १ सय ६० स्लाइसको सिटी स्क्यान मेसिन ल्याइएको हो । मेसिनको ट्यूब अत्याधिक क्षमताको भएकाले दिनभरिमा धेरै बिरामीलाई सेवा दिन सकिने थपलियाले जानकारी दिए ।
जापानमा निर्मित तोसिबा क्यानन ब्राण्डको उक्त मेसिन नेपालमै पहिलोपटक भित्र्याएको कम्पनीले दाबी गरेको छ । झण्डै ७ करोड रुपैयाँ लागतमा मेसिन सञ्चालनमा आएको अस्पतालले जनाएको छ भने अन्य मेसिनको तुलनामा ७५ प्रतिशत कम रेडियसन फाल्ने कम्पनीको दाबी छ ।