स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोलौं : प्रदेश प्रमुख शेरचन

पोखरा, फागुन १८ ।
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
बागलुङ समाज पोखराको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले स्वदेशमै उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गरिनुपर्नेमा जोड दिएका हुन् । “प्रकृतिले दिएका चिजले हामी सम्पन्नशाली छौं”, उनले भने, “यी स्रोतहरूको उपयोग गर्न सके मात्रै हामीले आर्थिक समृद्धि हासिल गर्न सक्छौं ।”
प्राकृतिक स्रोत, साधनले गण्डकी प्रदेश सम्पन्न रहेको भन्दै प्रदेश प्रमुख शेरचनले प्रकृतिले वरदान दिएको भएपनि मानव जातिले उपलब्ध स्रोत, साधनको सही उपयोग गर्न नसकेको उल्लेख गरे । गण्डकी प्रदेशमा थुप्रै खनिज पदार्थ रहेको भन्दै उनेले खनिजको उत्खनन् गरेर त्यसमै आधारित उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
एक अर्को प्रसंगमा उनेले कुनै पनि समाजको गठन र स्थापनामा व्यक्तिगत अभीष्ट राख्न नहुने बताए । स्वच्छ भावनाले समाजसेवाका लागि समाजको गठन हुने गरेको बताउँदै प्रदेश प्रमुख शेरचनले दुःखी, गरिबका लागि समाजले सधैं साथ दिनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशसभाका प्रदेश सांसद् कृष्ण थापाले अहिले जनप्रतिनिधिहरू नैतिक पतनको बाटोमा अग्रसर रहेको भन्दै जनताले आशा गरेका व्यक्तिहरूबाटै निराश हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए ।
त्यस्तै, प्रदेश सांसद् इन्द्रलाल सापकोटाले राजनैतिक दल सुध्रिए मात्रै देशको समृद्धि सम्भव हुने भन्दै राजनीतिलाई घृणाको विषय नभइ असल संस्कृति निर्माणको जग बनाउनुपर्ने धारणा व्यक्त गरे ।
अर्का प्रदेश सांसद् मणिभद्र शर्मा कँडेलले बागलुङको विकासका लागि पोखरामा बसोबास गर्ने बागलुङेहरूले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउँदै समाज भनेको दुःखको साथी बन्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी, अर्की प्रदेश सांसद् दिलमाया रोकामगर “दीपा”ले बागलुङ जिल्लाको समृद्धिका लागि जनप्रतिनिधि र समाजका अगुवाहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार गोविन्द नेपालीले समाज दुःखी, गरिबको साथी बन्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा विभिन्न विषयमा विद्यावारिधि प्राप्त समाजका सदस्यहरू र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तिहरूको तर्फबाट डा. भानुभक्त शर्मा कँडेल, सल्लाहकार दीर्घप्रसाद पाण्डेलगायतले जिउँदाको जन्ती, मर्दाको मलामीका लागि समाजको गठन भएकाले समाजले दुःख, सुखमा साथ दिनुपर्ने बताएका थिए ।
बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल पाण्डे र सचिव डिल्लीप्रसाद शर्माले बोलेका थिए ।
साधारणसभाले सचिव डिल्लीप्रसाद शर्माद्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष शिवप्रसाद शर्माद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा समाजको स्मारिका विमोचन गरिएको थियो ।
बागलुङ समाज पोखराको अध्यक्षमा पाण्डे
बागलुङ समाज पोखराको अध्यक्षमा सुनिल पाण्डे सर्वसम्मत चयन भएका छन् । पाण्डे यसअघि, समाजको उपाध्यक्ष रहेका थिए ।
शनिबार सम्पन्न समाजको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा डिल्लीप्रसाद शर्मा, सचिवमा नरेश सुवेदी, सह–सचिवमा भवानीशंकर शर्मा र कोषाध्यक्षमा ठाकुरप्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा वर्ण किरण श्रेष्ठ वन्त, मीना थापा, सुशीला प्रधानाङ्ग, टिकाराम आचार्य, गंगाबहादुर पुन र प्रकाश मल्ल चयन भएका छन् ।