‘साग’को टिकट ‘इसेवा’बाट, फुटबल, क्रिकेटको यस्तो छ टिकट शुल्क
काठमाडौं, मंसिर १३ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।
सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएर मात्र खेलहरु हेर्न पाउनेछन् ।
सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।
इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताए ।
टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले पाउने र त्यसबाट ७ प्रतिशत रकम सेवा विशेषका लागि कुनै संस्थालाई राहत उपलब्ध गराउने जनाइएको छ ।
फुटबलको टिकट शुल्क
दशरथ रंगशालामा हुने फुटबलका लागि ‘राउन्ड रोबिन’का खेलको प्रतिटिकटको दर साधारण पारापिटतर्फ ५०० र भीआइपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
फुटबल फाइनलमा भने साधारणतर्फ एक हजार र भीआइपीतर्फ दुई हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिने जनाइएको छ ।
भलिबल र बास्केटबलको टिकट शुल्क
भलिबल र बास्केटबलका लागि ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ ।
क्रिकेटको टिकट शुल्क
क्रिकेटमा नेपालको खेल भएको दिन ५०० र अरु खेलमा २०० रुपैयाँ प्रतिटिकट शुल्क तोकिएको छ ।
शुक्रबार साँझ ‘ग्रान्ड रिहर्सल’
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा १५ हजार ९०० सिट भएपनि १४ हजारमात्र टिकट बिक्री गरिने बताए ।
उनले आयोजनाको सबै तयारी पूरा भएको र शुक्रबार साँझ उद्घाटनका लागि ‘ग्रान्ड रिहर्सल’ गर्ने कार्यक्रम रहेको बताए ।
सिलवालले पौडी पोखरी निर्माणको काम शुक्रबार बिहानसम्म सकिने र बिहान पानी राखेर शनिबार बिहानसम्म नेपाली खेलाडीहरुले अभ्यास गर्नसक्ने बताए ।
(ईमेजखबरबाट साभार)