दशौं लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत सेमिफाइनाल खेलहरु सम्पन्न, फाइनल खेल भोली हुने

 

पोखरा, भदौ ६ ।

दशौं संस्करणको लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत आज दोस्रो दिन सेमिफाइनालका खेलहरु सम्पन्न भएका छन् ।

जस अन्तर्गत छात्रातर्फको सेमीफाइनल खेलमा माउण्ट अन्नपूर्ण र सओएस विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ सम्पन्न सेमिफाइनल खेलमा जिविएस र पिकेजी विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

त्यसै गरि तृतीय स्थानका लागि छात्रातर्फ बिएमजी र सिर्जना मा.वि. एवं छात्रतर्फ लिटिल स्टेप मा.वि. र पोखरा लर्नर्स बीच प्रतिष्पर्धा हुने भएको छ ।

फाइनल खेल भोली (शनिबार) दिउँसो २ बजे हुने भएको आयोजकले जनाएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलको प्रमुख आतिथ्यमा हुने समापन समारोहमा फाइनल चरणका खेल सहित विजयी टिमहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार समेत वितरण गरिने जनाइएको छ ।

प्रतियोगिताको विजेतालाई जनही १० जहार, उप–विजेतालाई जनही ७ हजार र तेस्रो हुनेलाई नजही ५ हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट र हाइस्कोररलाई ट्रफीको साथमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

शनिबार आयोजना हुने टुर्नामेन्टको समापन समारोहमा उपस्थित भई आतिथ्यता ग्रहण गर्न सम्पूर्ण अभिभावक, विभिन्न क्षेत्रका व्यक्तित्व, संघ–संस्थाका प्रमुख एवं कार्यकारिणी, प्रायोजक सबैलाई आयोजक लिटिल स्टेप मा.वि परिवार पुनः आमन्त्रण समेत गरेको छ ।

टुर्नामेन्ट यही भदौ ५ देखि विद्यालय परिसरमा सञ्चालन भईरहेको छ ।

यसैबीच आज सेमिफाइनाल खेलको शुभारम्भ नेपाली चलचित्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाह एवं नायक पुष्प खड्काले बल हस्तान्तरण गरी गरेका थिए ।

सो अवसरमा ड्रिम्स चलचित्रको युनिट एवं मारुनी चलचित्रका निर्माता पुनम गौतमको पनि उपस्थिति थियो । उक्त युनिटले भदौ १३ गते देखि प्रदर्शनमा आउने सो चलचित्रको प्रमोशन समेत गरेको थियो ।