एथ्लेटिक्सतर्फ नेपालका गोपीचन्द पार्कीले जिते स्वर्ण

 

काठमाडौं, मंसिर २० ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्सतर्फ नेपालले थप एक स्वर्णपदक जितेको छ ।

शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्णपदक जितेका हुन् ।

दशरथ रंगशालामा पार्कीले निर्धारित् दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे ।

१४ मिनेट ५५.२१ सेकेन्डमा दूरी पूरा गरेका भारतका सुनिल दवार दोस्रो हुँदै रजत जिते । १४ मिनेट ५७.०५ सेकेन्डमा दूरी पूरा गरी नेपालकै हरि रिमालले कास्यपदक जिते ।

स्वर्ण जितेपछि पार्कीले देशका लागि आफूले ऋण तिर्न सफल भएको प्रतिक्रिया दिए ।

जारी सागमा एथ्लेटिक्सतर्फ नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि, नेपालकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्णपदक जितेकी थिइन् ।

शुक्रबार भएको ५ हजार मिटर दौडमा भने सन्तोषी पदकबाट चुकिन् । यो स्पर्धामा श्रीलंकाले स्वर्णपदक जित्दा भारतले रजत र कास्यपदक जितेको हो ।
(ईमेजखबरबाट साभार)