वारागुङका दलित समुदायलाई च्याङ्ग्रा बितरण

मुस्ताङ, फागुन ८ । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा मंगलबार मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउँपालिकाले च्याङ्ग्रा बितरण गरेको छ । आर्थिक रुपमा विपन्न, पिछडिएका दलित समूदायको जिवनस्तर उकास्न सो कार्यक्रम ल्याईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । दलित जाँगरण भेंडाबाख्रा पालन उपभोक्ता समितिमा उक्त वडा का ८ घरधुरी आबद्ध रहेका समितिका सचिव लक्ष्मण सेन्चुरीले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको बिनियोजित बजेट मार्फत वडा नम्बर ४ का बिपन्न दलित समूदायलाई २ लाख ८८ हजार बराबरको ३६ वटा बाख्रा उपलब्ध गराएको हो ।
गाउँपालिकाले उपलब्ध गराएको बाख्रा पालन १० वर्ष सम्म समितिले निरन्तरता दिनुपर्ने छ । ५ वर्ष सम्म कारणबस बाख्राको संख्या घटेमा समितिलेनै पूर्ति गर्नुपर्ने र पालन गरेको ३ वर्षपछि समितिले उत्पादन गरेको च्याङ्ग्रा गाउँपालिकाले तय गरेको अन्य समितिलाई उपलब्ध गराउनु पर्ने शर्तमा सम्झौता भएको अधिकृत रेग्मीले जानकारी दिए । आर्थिक रुपमा पिछडिएका समुदायलाई यस कार्यक्रमले टेवा पु¥याउने दलित जाँगरण भेंडाबाख्रा पालन उपभोक्ता समितिका सचिव सेन्चुरीले बताए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी र वडाअध्यक्ष तेन्जिङ नाम्गेल गुरुङले बाख्रा पालन उपभोत्ता समितिका पदाधिकारीहरुलाई सामूहिक रुपमा च्याङ्ग्रा हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारीले क्षेत्रीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक निश्कर्षमा पु¥याउन गाउँपालिकाले समाजमा रहेका बिभिन्न तहतप्काका मानिसको जिवनस्तर बृद्धि गर्न यसप्रकारको कार्यक्रम ल्याउनु स्वागतयोग्य भएको बताए ।