जनहित मावि जोमसोममा सिभिल ईन्जिनियरिङ पढाई हुने

मुस्ताङ, फागुन ९ । मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित जनहित माध्यामिक विद्यालयले यसै शैक्षिकसत्र देखि प्राविधिक शिक्षा अन्तरगतको सिभिल ईन्जिनियरिङ सम्बन्धनको लागि गरिरहेको पहलको अन्तिम चरणमा रहेको छ । घरपझोङ गाउँपालिका अन्तरगत सञ्चालित यस विद्यालयलाई गाउँपालिकाले अनुमति दिईसकेपछि सिफारिस गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।
एक गाउँपालिका एक प्राविधिक विद्यालय अन्तरगत जनहित माध्यामिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको निःशुल्क सिभिल ईन्जिनियरिङ कक्षा सञ्चालनको लागि गाउँपालिकाको अनुमतिमा शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव श्रोत विकास केद्र, शैक्षिक प्रविधि शाखालाई सिफारिस गरिएको अधिकारीले बताए ।
यसअघि हिमाली जिल्ला मुस्ताङमा विद्यार्थीहरुले कतिपय अवस्थामा चाहेर पनि प्राविधिक शिक्षा अध्ययन गर्न पाउने अवस्था नरहेको अधिकारीले बताए । ‘राम्रो अंक ल्याएर पनि आर्थिक तथा विभिन्न कठिनाईले गर्दा विद्यार्थीहरु प्राविधिक शिक्षाबाट वञ्चित थिए, यो पहलले विद्यार्थीलाई प्रत्यक्ष लाभान्वित गराउने छ’ –उनले भने ।
अभिभावकहरुको पनि उल्लेख्य मात्रामा यस संकायको माग रहेको शिक्षक, विद्यार्थी र अभिभावक भावना अनुरुप यस विषयलाइ अगाडी बढाउन लागिएको हो । यस विद्यालयमा सिभिल ईन्जिनियरिङ संकाय अन्तरगत पढाई सुरु भएको खण्डमा अन्यन्त्र गएर पढ्नु पर्ने बाध्याता समाप्त हुने छ भने अभिभावकहरु आर्थिक भारबाट पनि जोगिने निश्चित छ ।
प्रधानाध्यापक रामचन्द्र अधिकारीले सम्बन्धनको लागि सिफारिस गरिएको भन्दै स्वीकृतीको उच्च अपेक्षा राखिएको बताएका छन् ।