पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो)

पोखरा, कात्र्तिक १९ ।

जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो सौर्य प्रणाली अटाइएको छ ।

पोखरा–५ पर्स्याङका स्थानीयले उनलाई बोलाउने नाम हो, ‘वैज्ञानिक बा’ । खेर गएका सामग्रीको प्रयोगबाट विभिन्न सामान बनाउँदा उनको घर एउटा प्रयोगशालाजस्तै छ । दृष्टिविहीनले छामेर बुझ्न सक्ने सौर्य प्रणाली, तारामण्डल, विश्वको नक्सा र लेख्न मिल्ने सजिलो बोर्डलगायत गणितीय सामग्री उनका प्रयोगशालामा छन् । यी सबै उनी आफैंले बनाएका हुन् ।

प्लाइउड, काठको धूलो, धागो, काठका टुक्रा, काँटी, कागज, फलाम र टिनलगायत सामान प्रयोग गरेर उनी दृष्टिविहीनका लागि शिक्षण सामग्री तयार पार्छन् । बनाएका सामान विभिन्न विद्यालयलाई दिन्छन् । विद्यार्थी ती सामान अवलोकन गर्न उनको घरैमा आइपुग्छन् ।
उनले बनाएका सामग्री पोखराकै अमरसिंह नमुना माविलाई हस्तान्तरण गरेका छन् । अमरसिंहमा दृष्टिविहीन विद्यार्थीलाई उनले दुई वर्ष पढाए पनि । एसएलसीपछि भूमि सुधारमा १० वर्ष जागिर खाए । लोक सेवा उत्तीर्ण गरी खाद्य संस्थानमा १८ वर्ष काम गरे । नायब सुब्बामा अवकाश लिए । ०४४–४५ सालतिर उनी स्याङ्जाबाट पोखरा फर्किंदै थिए । बसमा दृष्टिविहीन युवा उनीसँगैको सिटमा बसे । उनीसँगको बसाईले नै दृष्टिविहीनहरुको लागि केही गर्ने प्रेरणा जाग्यो ।
दृष्टिविहीन युवकको वाक्यले दीनबन्धुको मन छोयो । उनी जस्तैका लागि केही गर्ने अठोट मनमनै लिए । पोखरा फर्किएर उनले उपयोगी सामग्री बनाउन लागे ।

उनले बनाएका उपकरण कामसँग पनि जोडिन्छन् । दृष्टिविहीनले काम गर्न मिल्ने साधन भए सडकमा बस्नुपर्ने अवस्था नआउने उनी बताउँछन् । सडकमा गीत गाइरहेका दृष्टिविहीन देखेपछि उनले किला ठोक्दा हातमा नलाग्ने प्रविधिको हयाम्मर बनाए । दृष्टिविहीनले सियोमा धागो उन्न मिल्ने मेसिन बनाए ।