बिहे गरेका छोरीले पनि अंश पाउने
काठमाण्डौं, भदौ १९ ।
अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ । साथै दफा २०६ ले सबै अंशियारको हक समान रहने छ भनेर स्पष्ट उल्लेख गरेको छ ।
यसअघि २०६३ सालको अन्तरिम संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था गरेको थियो । तर त्यसको कार्यान्वयनमा अन्य कानुनहरु उदार बन्न नसक्दा छोरीहरुले अंश पाउन सकेका थिएनन् । अहिलेसम्म पनि एकाध बाहेक कुनै पनि बाबुआमाले छोरीलाई अंश दिने चलन छैन ।
छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था संहिताले गरेको हो । लैङ्गिक समानता कायम गर्न तथा लैङिगक हिंसा अन्त्य गर्न यस्तो व्यवस्था मुलुकी ऐनमै गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता संजिवराज रेग्मीले बताए ।