पुजारी तलवमा राखेपछि विन्ध्यवासिनीको आम्दानी बढ्यो

पोखरा, असोज ९ ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा तलवे पुजारी राखेपछि आम्दानी बढ्न थालेको छ । सरकारले पोहोर साल कात्तिकमा धार्मिकस्थलको भेटी व्यवस्थान निर्देशिका जारी गरेपछि चालू बर्षको पहिलो महिनादेखि नै विन्ध्यवासिनीमा पुजारीलाई तलव दिन थालिएको हो । निर्देशिकाले धार्मिक स्थलहरुबाट सिधै पुजारीको पोल्टामा जाने भेटीलाई व्यवस्थापन गर्न खुकुलो बनाइदियो ।
त्यही निर्देशिकामा टेकेर विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सरकारको स्वीकृति लिएर भेटी व्यवस्थापन र आचारसंहिता तथा कार्यविधि बनाएर भेटी ब्यवस्थापन थालेको हो । पुजारीलाई तलबमा नियुक्त गरिएपछि मन्दिरको आम्दनी बढेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचीव तीर्थ श्रेष्ठले जानकारी दिए ।
साउन महिनामा मूल मन्दिरबाट मात्रै ४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताए । सोही महिनामा ३९ लाख रुपैयाँ मन्दिरबाट विकास समितिले आम्दानी गर्न सफल भएको हो । जबकि यसभन्दा अघि दानपेटीकाबाट १ लाख रुपैयाँमात्रै मन्दिरको आम्दानी हुने गरेको थियो । ‘निर्देशिकाको आधारमा हामीले आचारसंहिता तथा कार्यविधि बनायौं । त्यसपछि साउन १ गतेबाटै पुजारी नियुक्त ग¥यौं,’ श्रेष्ठले भने, ‘अहिले आम्दानी बढ्न थालेको छ । यसले मन्दिरको विकासका लागि आर्थिक श्रोत बलियो हुन्छ ।’
समितिले प्रत्येक दिनको मन्दिरको भेटीको हिसाब सार्वजनिक गर्न थालेको छ । ३ सय वर्ष हाराहारी पुरानो र पुरातात्विक महत्वको विन्ध्यवासिनी मन्दिरको जीर्णोद्वारदेखि विभिन्न पूर्वाधार निर्माणको काम समितिले नै गर्दै आएको छ । तर, मन्दिरको भेटीमा समितिको हकाधिकार नहुँदा पुजारीको पोल्टामा पर्दै आएको थियो ।
‘विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मर्मतसम्भार, पुनर्निमाण वा नयाँ निर्माणको कामका लागि धार्मिक क्षेत्र विकास समितिले दान चन्दाको भर पर्नुपरेको थियो,’ अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने, ‘अब भेटीको व्यवस्थापनको काम समितिले गर्न थालिसकेको छ । आचारसंहिता नमान्ने पुजारीलाई अब समितिले जुनसुकै बखत हटाउन सक्ने नियम समेत बनाइएको छ ।