वडाध्यक्ष नेपाली महानगरका प्रबक्ता

पोखरा, भदौ १ ।
पोखरा महानगरपालिकाले वडाध्यक्ष धनबहादुर नेपालीलाई आफ्नो प्रबक्तामा नियुक्त गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ का अध्यक्ष नेपालीलाई प्रबक्तामा नियुक्त गरेका हुन् । मेयर मानबहादुर जिसीको प्रश्तावमा केही वडाध्यक्षले समर्थन गरेपछि उनी प्रबक्तामा नियुक्त भएका हुन् । ‘मेयर सावले प्रश्ताव ल्याएर पारित गर्न आग्रह गर्नुभयो । छलफल नै नगरी केही वडाध्यक्षहरुले तालि बजाए, काँग्रेसका सचेतक रामराज लामिछानेले भने–हतारमा निर्णय गरेपछि हामी अन्यौलमा प¥यौं । बैठकमा छलफल नै हुन पाएन ।’

प्रबक्ता तोक्ने बिषयमा कुनै स्पष्ट ब्यवस्था छैन । यद्यपी सम्पादित कामका बारेमा जानकारी दिन स्थानीय तहले कुनै ब्यक्तिलाई तोक्न सक्नेछ । पोखरा महानगरका सूचना दिनका लागि सूचना अधिकारी तोकिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले महानगरको नीति तथा कार्यक्रमका बारेमा जानकारी दिने गरी प्रबक्ता नियुक्त गरिएको जानकारी दिए ।

‘महानगरका प्रशासनीक बिषय सूचना अधिकारीले दिने हो । नीतिगत निर्णयका जानकारी अव प्रबक्ता मार्फत सञ्चार हुन्छ, उनले भने–ऐनका बारेमा स्पष्ट जानकारी छैन । तर सरकार भैसकेपछि सरकारले प्रबक्ता नियुक्त गर्न पाउँछ ।’ बैठकका निर्णय सार्वजनिक गर्ने र सम्पादित कामलाई बाहिर ल्याउन प्रबक्ता तोकिएको प्रमुख सचेतक शोभामोहन पौडेलले बताए ।