भत्काईयो पालिखेचोकका घर (फोटोमा हेर्नुस्)

पोखरा, साउन १७ ।
पोखरा महानगरपालिकाको मुख्य बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका घर भत्काउन थालिएको छ । वडा कार्यालय र महानगरको संयुक्त पहलमा मापदण्ड कार्यान्वयन गराउने अभियान थालिएको छ । चार दशकअघिदेखिको प्रयास बल्ल पूरा भएको छ ।तत्कालीन अञ्चलाधिष शंकरराज पाठककै पालामा पालिखेचोकका घर भत्काउने प्रयास भएको जानकारहरु बताउँछन् । तर स्थानीयको अवरोधले काम हुन सकेको थिएन । त्यसपछि पनि नगरविकास समितिले धेरै पटक प्रयास गरेको थियो । पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन ।  तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे । नयाँ संरचनामा जनप्रतिनिधी निर्वाचित भएकै बर्षदिनभित्र मापदण्डभित्रका घर भत्काउन सफल भएको हो । विहिबार बसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको जग्गाभित्रको दुईतले घर भत्काईएको हो । वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाको नेतृत्वमा गठन भएको समितिले चित्तबुझ्दो मुआब्जा दिएरै घर भत्काएको हो ।जग्गाधनीमध्ये २ परिवारले मुआब्जा बुझिसकेका छन् भने २ जनाले निवेदन दिएका छन् । पहिलो चरणमा उदास परिवारको घर भत्काईएको र बाँकी रहेका घरहरु पनि १५ दिनभित्रै भत्काईसक्ने वडाध्यक्ष बास्तोलाले जानकारी दिए । ‘टेलिकमको बाक्सा सार्नुपर्नेछ । एउटा घर भत्काएपछि बाक्सा सार्न मिल्छ, उनले भने–त्यो सारिसकेपछि बाँकी रहेका घरहरुपनि भत्काउँछौं ।’