पोखराका सरकारी कार्यालयमा बिचौलियालाई छिर्नै रोक !

पोखरा, साउन १६ ।
कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलिया निषेध गर्ने घोषणा गरेका छन् ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उनले बुधबार पत्रकार सम्मेलन गरी कास्कीका मालपोत, यातायात लगायत सबै कार्यालयमा बिचौलिया निषेध गर्ने बताएका हुन् ।

यद्यपी यी कार्यालयमा यसअघि देखिनै बिचौलिया निषेध गरिएको थियो तर यो पूर्ण रुपमा लागू भइनसकेको अवस्थामा नयाँ सिडियोले यसलाई पूर्णतः विचौलिया निषेधित क्षेत्र बनाउने उद्घोष गरे ।

प्रमुख जिल्ला अधिकारी बुढाले सरकारले घोषणा गरेको सिण्डिकेट खारेजी कास्कीमा पूर्ण रुपमा लागू गर्ने बताए । उनले भने, ‘कास्कीमा समितिको नाममा, एनजिओ, आइएनजिओ लगायतका नाममा भएका सबै सिण्डिकेट अन्त्य हुन्छ, अब तिनिहरुको नवीकरण हुँदैन ।’ उनले नेपाल सरकारको निर्णय अनुसार ट्याक्सी मिटरमा चल्नैपर्ने बताउँदै यसलाई कडाइका साथ लागू गर्ने बताए ।

सीडीओ बुढाले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने बताउँदै त्यसका लागि कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘शान्ति सुरक्षा वा अमनचयन कायम गर्नका लागि कसैसँग पनि कम्प्रमाइज गर्दिनँ, गुनासो सुनुवाई वा सेवाग्राहीलाई दिइने सेवामा छिटो छरितो बनाउँछु ।’

उनले फेवाताल, बसपार्कलगायतका सार्वजनिक जग्गा अतिक्रमणबारे आफू जानकार भए पनि त्यसमा निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकाले पोखरा महानगरपालिकाले गरेका निर्णय अनुसार कार्यान्वयन गर्ने बताए ।