पोखराको कार्यपालिका बैठकमै कर्मचारीलाई वडाध्यक्षको अभद्र ब्यवहार !

पोखरा, साउन ५ ।
पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षले कर्मचारीलाई दुब्यवहार गरेको आरोप लगाईएको छ । पोखरा महानगरपालिकाको फोहोरमैला ब्यवस्थापनका लागि टेण्डर प्रक्रियामा लैजाने धारणा कार्यपालिका बैठकमा राख्ने वित्तिकै वडाध्यक्ष लेख बहादुर तामाङ (दर्शन लामा) ले लेखा अधिकृत बसन्त सिग्देल र प्रविधि अधिकृत अशोक द्धारेलाई अपशब्द प्रयोग गरी हकारेका बैठकका सहभागीहरुले बताए । महानगरपालिकाले यही बर्षदेखि फोहोर ब्यवस्थापनका लागि टेण्डर निकाल्ने तयारी गरेको छ ।

त्यसकै लागि सिग्देलले ब्यवस्थापनको ब्यक्तिगत कार्ययोजना सुनाएका थिए । ‘निवेदनको भरमा टिका लगाएर दिने चलन थियो । सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेर दिईएको ठेक्का रोक्नुपर्छ भन्ने मैले धारणा राखेको हो, सिग्देल भन्छन्–न सार्वजनिक निजी साझेदारी न सार्वजनिक खरिद ऐन । आफुखुशी ठेक्का दिँदा महानगरको राजश्व कसरी बढ्छ ?’ महानगरकै हितमा बोल्दा आफुमाथी गलत चार्ज लगाईएको उनी बताउँछन् । ‘मलाई महाशाखा प्रमुखको हैसियतले बोलाईएको थियो । मेरो प्रश्ताव राम्रो लागेर मेयरसावले बोल्ने अवसर दिनुभयो, उनले थपे–बोलेर नसक्दै वडाध्यक्ष ज्यू कड्किनुभयो । धेरै कुरा मैले सुनिन ।’

वडाध्यक्ष तामाङले चाहीँ फोहोरमैलाको बिषयमा असम्बन्धित कर्मचारीले ब्रिफिङ गरेपछि त्यसो नगर्न भनेको बताए । ‘फोहोरमैला ब्यवस्थापनको लागि छुट्टै महाशाखा छ । महाशाखाले काम गरिरहेको छ, उसैको अधिकार हो, उनले भने–आर्थिक प्रशासनको मान्छे फोहोर मैलामा बोल्दा कत्तिको जायज हो ? मैले त्यसो नगर्न भनेको हुँ । अनावश्यक चार्ज लगाईयो ।’ ईमान्दार भएर जनताको पक्षमा काम गर्दा पनि उचित वातावरण नमिलेको उनी बताउँछन् ।

‘कार्यपालिका बैठक कर्मचारीको कि जनप्रतिनिधीको सँधै कर्मचारीले निर्णय गराउने भए हाम्रो के काम भयो ?, उनी भन्छन्–बैठक ब्यवस्थित हुनुप¥यो भनेर मेयरसावसँग मैले आग्रह गरेको हुँ । कर्मचारी साथीहरुले अर्कै हिसावले लिनुभयो ।’ फोहोरमैला ब्यवस्थापन र होर्डिङ बोर्ड ब्यवस्थापनको पक्षमा आफुँ निरन्तर लागिरहेको उनले बताए । फोहोरमैला ब्यवस्थापनमा ठेकेदारले गरेका काला कर्तुत पनि कार्यपालिका बैठकमा आफुँले पेस गरेको भन्दै उनले कारबाहीको माग गरे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले कर्मचारी प्रति जनप्रतिनिधीको ब्यवहार सुहाउँदो नभएको बताए । ‘शुक्रबारको बैठकमा सबै टेक्निकल कुरा थियो । वडाध्यक्ष ज्यूले छलफल नगरी ल्याएको भनेर अब्जेक्सन गर्नुभयो, पौडेलले भने–सबैले महाशाखा प्रमुखले ब्रिफिङ सकेपछि कार्यपालिका सदस्यबीच छलफल गर्ने कार्यक्रम थियो । व्रिफिङ नसकिँदै कर्मचारी हावी भए, कर्मचारीले पढाउने ? भनेर रिसाउनुभयो ।’ उनले आफ्नो कर्तब्य अनुसार ड्युटी पूरा गरेको भन्दै महानगरको हितका लागि कार्ययोजना ल्याएको बताए ।

मेयर मानबहादुर जिसीले कार्यपालिकाका सदस्यहरु जिम्मेवार नभएका बताए । उनले टेण्डरमा जाने निर्णय भैसकेकोले निर्णय कार्यान्वयन गरिछाड्ने बताए । ‘यो महिना तयारी गरेर भदौमा गएपनि केही फरक पर्दैन । तर टेण्डरमा लैजाने हो, उनले भने–राम्रा कुरामा जनप्रतिनिधीले पनि साथ दिनुपर्छ । कार्यपालिकाका सबै सदस्य जिम्मेवार बन्नुपर्छ ।’

शुक्रबारको बैठकले महानगरको नाम पोखरा राख्नका लागि केन्द्रमा सिफारिस गर्न बहुमतले निर्णय गरेको छ । वडानम्बर २७ र ३२ का अध्यक्षहरुले चाहीँ नामबाट लेखनाथ हटाउन नमिल्ने भन्दै नोट अफ डिसेन्ट लेख्ने बताए । महानगरले उपभोक्ता समिति गठन र ब्यवस्थापन कार्यविधि तथा जनसहभागिता कायम नहुने आयोजनामा प्याकेज तयार गरी टेण्डर गर्ने बिषयमा भने वडाध्यक्षहरुले परिमार्जन गर्नुपर्ने माग राखे ।

वडानम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले जनसहभागिता ग्रामिण र शहरी क्षेत्रमा समान हुनुपर्ने बताए । ‘राजश्व उठाउने बेला १ देखि १० सम्मका वडा चाहिने अनि जनसहभागिता पनि यही वडामा थुपार्ने, उनले भने–सबैलाई समान जनसहभागीता नभए वडा नम्बर ४ को आपत्ति छ । हामीलाई मान्य छैन ।’

यसैबीच, शुक्रबारको बैठकले पत्रकार कल्याणकारी कोष, विपद् कोष सञ्चालन कार्यविधि, अस्थायी र करार कर्मचारीको म्याद थप तथा संस्थागत विद्यालयको छात्रबृत्ति कार्यविधि पारित गरेको छ भने खहरे खोलामा थुप्रिएको ढुंगा, गिटी बालुवा विक्रि गर्ने, सिलशिला बोर्डिङ स्कुललाई स्थानान्तर अनुमति दिने लगाएतका निर्णय पनि भएका छन् ।