गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन–‘रेलमा भरेर पानी पठाउछौं’

पोखरा, साउन ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धी र आर्थिक विकासका लागि रेलमार्ग विस्तार र पानी जहाज चलाउने कुरा दोहोर्याए । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार रेल ल्याउने कुरामा गम्भीरताका साथ लागिरहेको प्रष्ट्याए । केरुङबाट काठमाण्डौं हुँदै पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग विस्तार द्रुतगतिमा हुने उनको विश्वास छ ।

प्रधानमन्त्री ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक वनार्ईएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गरे । ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक वनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छ ?, उनले भने–नेपालमा रेल चल्छ । पूर्व पश्चिम रेल चलाईन्छ ।’ रक्सौल काठमाण्डौ रेल पुर्व सम्भाव्यता अध्ययन सूरु भईसकेको र छिमेकी मुलुक चीनले समेत आउदो अगष्टवाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ ।

सँगसँगै उनले गण्डकी प्रदेशको बयान पनि गर्न भ्याए । प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए । उनले पहराबाट मिनिरल सहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाईने दावी गरे ।‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनिरल वाटर बन्छ ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ । रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने बस्तु मिनिरल वाटर हो ।’ आम नेपाली जनताको चाहना विकास र समृद्धि भएकोले सरकार त्यसका लागि तयार रहेको प्रधानमन्त्रीको भनाई छ ।

उनले नेपालबाट तुईन हटाईछाड्ने दृढता दोहोर्याए । ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन् । तर त्यसको मतलव मलाई छैन, उनी भन्छन्–म तुईनको शत्रु हो । नेपालबाट तुईन हट्छ हट्छ ।’ प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा फिल्म सिटीको अवधारणा पनि सरकारले सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन् । मैले जि सिनेमाका कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङदीको आसपास ठाउँ हेर्न भनेको छु, उनले भने–यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुम्वई यता सर्छ । मुम्वईमा समथर बाहेक केही देख्न पाईंदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाईन्छ ।’

प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भ्रष्टाचारको अन्त्य हुनु आवश्यक रहेको समेत औंल्याए । ‘प्रदेश सभा र प्रदेश सरकार हाम्रो लागि नयाँ अभ्यास हो । संविधान कार्यान्वयनलाई सही वाटोमा अघि वढाएका छौँ । प्राप्त उपलव्धीलाई रक्षा गरेर विकासको गतिमा अघि वढ्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले भने,‘सहज ढंगले जनतालाई सेवा प्रदान गर्दैनौ भने हामी विकास गर्न सक्दैनौँ । विकासको लागि सुशासनमा जोड दिएका छौँ । विकासको लागि सुशासन अनिवार्य छ ।’ उनले गण्डकी प्रदेश शिक्षा, स्वास्थ र पर्यटनको हवको रुपमा रहेको भन्दै प्रदेश विकासमा संघीय सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।