पोखरामा प्लास्टिक पेलेर सडक पिच
पोखरा, साउन २ ।
पोखरामा प्लाष्टिक पेलेर सडक पीच गरिएको छ । पोखरा–१४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् ।
ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि विदेशमा सिकेर पोखरामा प्रयोग गरेका हुन् । प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक बाटो पहिल्याउँदै युवाहरुले प्लास्टिक पेलेर १ सय मिटर बाटो पिच गरेरै देखाएका छन् ।
कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पटाएको थियो । भुटानबाट फर्केपछि उनीहरुले पोखरा–१४ मा एक सय मिटर परीक्षणका लागि सडक पिच गरेका हुन् ।
एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लाग्ने इन्जिनियर राजीव सुवेदीले जानकारी दिए । सडक पिच गर्दा पैसासमेत कम लाग्ने कम्पनीको दाबी छ । सबै प्रविधि बाहिरबाट ल्याएर पिच गर्दा पनि २० हजार रुपैयाँभन्दा कम परेको इन्जिनियर सुवेदीले बताए ।