प्रदेशको नाम गण्डकी राखे नयाँ शक्तिले विरोध गर्ने

पोखरा, असार २१ ।
प्रदेश ४ को नाम गण्डकी राख्ने बिषयमा नयाँ शक्ति पार्टी नेपाल विपक्षमा उभिएको छ । निर्विवादित राजधानी पाएको प्रदेश ४ ले नाममा भने धेरै अवरोध र अप्ठ्यारा ब्यहोर्नुपरेको थियो । अव भने लगभग गण्डकी नाम राख्ने पक्षमा सहमति पुगेको छ ।

नयाँ शक्ति बाहेक सबै दलले प्रदेशको नाम गण्डकी राख्न सहमति जनाएका छन् । नेकपाले बुधबार बैठक बसेर नाम गण्डकी नै राख्ने निर्णय गरेको हो । प्रदेश ४ मा ३९ जना नेकपाका सांसद छन् । त्यसबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पनि समर्थन गण्डकीमा छ । काँग्रेसका १५ सांसद प्रदेशमा छन् ।

३ सांसद रहेको जनमोर्चाले पनि गण्डकीलाई समर्थन दिएको छ । २ सांसद वाला नयाँ शक्तिले चाहीँ गण्डकी कुनैपनि हालतमा राख्न नहुने अडान लिएको छ । सुरुदेखि नै पहिचानको मुद्धा उठाईरहेको नयाँ शक्ति प्रदेश ४ को नाम गण्डकी–तमुवान राख्ने पक्षमा छ ।

यसअघि तमुवान–मगरातको पक्षमा उभिएको नयाँ शक्ति पछिल्लो समय एकल र बहु पहिचान दुवैलाई समेटेर नाम राख्न राजी भएको थियो । ‘सुरुमा तमुवान–मगरात नै हाम्रो माग हो । सबै दलको पनि समर्थन खोज्दा गण्डकी–तमुवानमा झरेका थियौं, नयाँ शक्तिका सांसद हरिशरण आचार्यले भने–यसरी धोका दिन पाईंदैन । राजनीति नै पहिचानको मुद्धाबाट उठाएकाहरु अहिले पहिचान भुलेर हिड्दा गलत हुन सक्छ ।’

सदनमा पनि तमुवानकै पक्षमा आवाज उठाउने उनले बताएका छन् । माओवादी र एमालेका केही सांसदहरुले पनि पहिले गण्डकी–तमुवानकै पक्षमा आवाज मजबुत पारिरहेका थिए । तर अन्तिम समयमा आएर सबैको समर्थन जुटाउँदा प्रदेशको नाम गण्डकी बन्न लागेको हो ।