नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र जस्तो–विपक्षी
पोखरा, जेठ २९ ।
सत्तापक्षले आगामी दिनमा घटना नदोहो¥याउने प्रतिवद्धता जनाएपछि मात्रै सदन अगाडी बढेको थियो । सोमबार प्रदेशसभामा प्रदेशप्रमुख बाबुराम कुवँरले २ दिनअघि प्रश्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्ने कार्यसूची थियो । तर छलफलमा सहभागी अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमभन्दा बढी संसदीय मर्यादाका बिषयमा कुरा राखे । सत्तापक्षले प्रतिपक्ष संसदमा जिम्मेवार हुन नसकेको र विपक्षीले चाहीँ सत्तापक्षले सदनको मर्यादा राख्न नसकेको भन्दै आरोप प्रत्यारोपमा थिए ।
यद्यपी त्यसलाई छिचोलेर केहि समय चाहीँ नीति तथा कार्यक्रममा अडिए । सत्तापक्षले सरकारको नीति तथा कार्यक्रमले ५० औं बर्ष लक्ष्य बोकेको उल्लेख गरे भने प्रतिपक्षी सांसदहरुले नेकपाको संयुक्त घोषणापत्रको संज्ञा दिए । नेपाली काँग्रेसका सांसद मेखलाल श्रेष्ठले धेरै बिषय छिराउन खोज्दा महत्वपूर्ण बिषयलाई छुटाएको टिप्पणी गरे । अघिल्लो नीति तथा कार्यक्रममा ड्राफ्ट आएको थियो । अहिले नक्सा तयार गरिएछ, उनले भने–तर सबैकुरा छिराउँछु भन्दा राम्रा र महत्वपूर्ण बिषयले प्रवेश पाएनन् ।’
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दण्ड र जरिवानाको ब्यवस्था हुनुपर्ने उनको सुझाव छ । जनमोर्चाकी पियारी थापाले नयाँ ब्यवस्थामा पनि पूरानै संरचनाका कार्यक्रम सार्वजनिक गरिएको बताईन् । ‘बाम सरकारले पनि सर्वहाराले अपनत्व गर्ने कार्यक्रम ल्याउन सकेन । अझैँपनि पुँजीपतिलाई प्रश्रय मिल्ने गरी नीति तथा कार्यक्रम बनाईयो, उनले भनिन्–ब्यवस्था फेरियो तर मानसिकता फेरिएन ।’
नयाँ शक्तिका सांसद हरिशरण आचार्यले नीति तथा कार्यक्रमलाई पार्टीको घोषणापत्र भनि टिप्पणी गरे । सरकारले केही राम्रा कुराहरुलाई अघि सारेपनि घोषणापत्र जस्तो आवधिक योजनामा केन्द्रित गरेको उनको भनाई छ । ‘नीति तथा कार्यक्रम बार्षिक हुन्छ । बर्षदिनमा गर्ने कामलाई यसमा समेट्नुपर्ने हो, उनले भने–बर्षौंसम्म पूरा नहुने कार्यक्रम पनि समावेश गरियो । यसले घोषणापत्रभन्दा फरक लागेन ।’
सत्तापक्ष एमालेका सांसद धनन्जय दवाडीले सरकारले देखेका लक्ष्य एक्लै पूरा गर्न नसक्ने भन्दै प्रतिपक्षको सहयोग अपरिहार्य रहेको बताए । ‘नयाँ ब्यवस्था भएकोले विगतबाट सिक्ने अवसर हामीलाई छैन । हाम्रा ब्यवहारले पछिल्ला पुस्तालाई कार्यादेश दिन सक्छ, उनले भने–सरकारले ल्याएको सबै कार्यक्रम प्रतिपक्षको सहयोग विना सफल हुँदैन । सबैको साथ, सहकार्य र सहमति चाहिएको छ ।’ माओवादी सांसद दीपक कोइरालाले प्रदेशका हरेक क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेको भन्दै प्रशंसा गरे ।
‘कम्युनिष्टले भनेजस्तो र सबै नेपालीले चाहेजस्तो समाजबाद उन्मुख हुन यो नीति तथा कार्यक्रम भरपुर छ, उनले भने–हरेक निर्वाचन क्षेत्र र हरेक स्थानीय तहलाई छुने गरी कार्यक्रम समेटिएका छन् । सरकारलाई विशेष धन्यवाद ।’ नीति तथा कार्यक्रम मंगलबारको बैठकमा पारित गर्ने योजना छ । सरकार चाहीँ बजेटको तयारीमा ब्यस्त छ ।