प्रदेश ४–बजेटको विरोध गर्दै काँग्रेस र नयाँशक्तिले गर्यो संसद अवरुद्ध (भिडियो सहित)
पोखरा, बैशाख २१ ।
कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी दलले प्रदेश ४को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी नयाँ शक्ति पार्टी नेपालका सांसदहरुले बजेटमाथी असहमति जनाउँदै संसद चल्न नदिएका हुन् ।
संसद बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले बोल्ने समय दिएपछि नेपाली काँग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका कुमार खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको बताए । उनले बजेटबारे नसच्याएसम्म संसद चल्न नसक्ने बताएपछि सभामुखले २ दिनका लागि संसद स्थगित गरे ।
संसद बेठकबाट निस्केपछि नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकार जिम्मेवारपूर्ण हिसावले प्रश्तुत हुन नसकेको गुनासो गरे । उनले बजेट ल्याउँदा प्रतिपक्षीसँग समन्वय नगरेको आरोप लगाए । नयाँ शक्तिका सांसद हरिशरण आचार्यले काँग्रेससँग समन्वय गरेरै अवरोध गरेको बताए । उनले भ्रष्टाचारमा सघाउने हिसावले सरकारको बजेट आएको टिप्पणी गरे ।
तत्कालै पत्रकार सम्मेन लगि अर्थमन्त्री किरण गुरुङले प्रतिपक्षी दलले संसदीय अभ्यास विपरित काम गरेको बताए । उनले केही नमिलेका कुरा बार्ताबाट सम्बोधन गर्दै आईतबारको बैठक सहज रुपमा चल्ने वातावरण बनाउने बताएका छन् ।
संसद बैठकमा प्रतिपक्षीले गरेको विरोध भिडियोमा हेर्नुस् ।