‘बजेटमा सत्ताको गन्ध आयो’

पोखरा, बैशाख १४ ।
बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारको सिद्धान्त र प्राथमिकताबारे शुक्रबार पनि संसदमा छलफल चल्यो । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले बजेट सत्तापक्ष केन्द्रित आउन लागेको गुनासो गरे ।

काँग्रेस सांसद कुमार खड्काले सत्तापक्षका सांसदले तयार गरेका योजनामा बजेट केन्द्रित भएको बताए । ‘संसदमा विपक्षी दल पनि छ भन्ने सरकारले सोचेन । सत्तापक्षका सांसदहरुको डिजाईन अनुसार बजेटको प्राथमिकता तोकिएको छ, उनले भने–सिद्धान्त र प्राथमिकता नै विपक्षीले अपनत्व गर्ने खालको छैन । बजेटमा कसरी समेटिएला ?’

नयाँशक्तिका हरिशरण आचार्यले जनता विकास कार्यक्रमका लागि छुट्टै बजेट छुट्याउन सुझाव दिए । ‘जनतालाई धेरै एजेण्डा देखाएर भोट मागेका छौं । उनीहरुको अपेक्षा पूरा गर्ने दायित्व हामीसँग छ, उनले भने–निर्वाचन क्षेत्र विकास जस्तो कुनै शीर्षकमा बजेट बिनियोजन गरिनुपर्छ । नत्र हामी जनताबाटै तिरस्कृत हुन्छौं ।’

मनकुमारी गुरुङ, मधुमाया अधिकारी, धनमाया लामा पोख्रेल लगायतले महिलाका लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन गर्न आग्रह गरे । कम्तिमा २५ प्रतिशत बजेट महिला केन्द्रित हुनुपर्ने उनीहरुको माग छ । सांसदहरु चन्द्रबहादुर बुढा, मनबहादुर गुरुङ, पियारी थापा, कोपीला बोहरा, मोहन रेग्मी लगायतले बजेटका प्राथमिकता र सिद्धान्त उत्कृष्ट रहेको बताए ।

केही बिषयबस्तु छुटेका भन्दै त्यसलाई समेटेर बजेट ल्याए कार्यान्वयनमा सहज हुने र नमुना प्रदेशको जग हाल्न सकिने उनीहरुको धारणा छ । सरकारले बैशाख १९ गते १ अर्व २ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दैछ ।